FAQs Complain Problems

राइनास नगरपालिकाको संक्षिप्त परिचय ("हाम्रो राइनास नगरः कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री शहर")

नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलार्इ समेटेर बनाएको हो । लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू-भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ । यस राइनास नगरपालिकालार्इ अनेकौ डाँडाकाडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर ,हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् । यिनै प्राकृतिक परिदृश्यमा यसले आ-आफ्नै मौलिकता अस्तित्व बोकेको छ । लमजुङ गार्खा भएर बग्ने पवित्र र स्वच्छ एंव निर्मल जलले बोराङ्खोला देखि साहिलीटार, टिमुरे, सातविसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमवेशी हुँदै चेपेघाट सम्म समथर खेतबारी र ठूला ठूला टारहरु सिंचित भएका छन् । यो फाँट तथा टारहरुमा बाह्रै महिना हराबरा बालीहरु लगाइरहेका हुन्छन् । यसकारण यस चम्पावती नदीलार्इ यस नगरपालिकाको महत्वपूर्ण गहनाका रुपमा लिन सकिन्छ । अझै उच्च तर्फ हेर्ने हो भने राइनासकोट र यसको अगलवगलमा जति हेरे पनि नअघाइने प्रकृति र विविध सँस्कृतिका गाँउ बस्तीहरु एंव हिमशृङ्खलाहरु देख्न पाइन्छ ।